बालमैत्री स्थानीय तह


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
तारकेश्वर नगरपालिका

काठमाण्डौ जिल्लाको उत्तर पश्चिममा अवस्थित प्राकृतिक रुपमा सुन्दर नगरपालिका हो “तारकेश्वर” । साविकका ७ वटा साङ्ला, जितपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैजु र फुटुङ गाविसहरु मिलेर बनेको यस तारकेश्वर नगरपालिकामा ११ वटा वडा रहेका छन् । ३४.९५ वर्गकिमीमा फैलिएको यस नगरपालिका प्रसिद्ध तीर्थस्थल तारकेश्वर महादेवको नामबाट नामाकरण गरिएको हो ।

वि.सं. २०६८ को जनगणना अनुसार यस नगरपालिकाभित्र २०१५८  घरधुरीमा ४१३७३ पुरुष र ४००६७ महिला गरी ८१३४० जनसंख्या रहेको छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट नगरको मेयर रामेश्वर बोहोरा र भवानी डोटेल धिताल उपमेयर हुनुहुन्छ । यसैगरी वडाध्यक्षहरुमा विदुर सापकोटा, रविन्द्र केसी, मनोहरि तिवारी, नरेन्द्रदास श्रेष्ठ, बासुप्रसाद गौतम, मधु कार्की, सानुकाजी खत्री, मनोजकुमार घिमिरे, बलराम सिटौला, अमृत थापा र बिन्दा बुढाथोकी हुनुहुन्छ । यस नगरपालिकाभित्र बालबालिकाको शिक्षाको लागि ८० वटा विद्यालय रहेका छन् । जसमा सामुदायिक २१, संस्थागत विद्यालय ५८ र एउटा धार्मिक विद्यालय रहेका छन् । यस मध्ये  ६० माध्यमिक विद्यालय र १९ वटा आधारभूत विद्यालय रहेका छन् ।
तारकेश्वर नगरापालिकाले बालमैत्री प्रवद्र्धनका लागि गरिएका प्रस्तावित कार्यक्रमहरुः
  • बालमैत्री स्थानीय शासनसम्बन्धी नगर कार्ययोजनाको निर्माण गरी कार्यक्रमहरु सञ्चालनमा ल्याउने
  • बालबालिकालाई गुणस्तरीय एवं जीवनोपयोगी शिक्षा विकासका लागि नगर शिक्षा योजनालाई प्रभावकारी बनाई शिक्षक दरबन्दी थप गरी पठन पाठन सहज बनाउने ।
  • सबै विद्यालयहरुमा छात्र छात्राको छुट्टै र प्रयाप्त शौचालयको व्यवस्था गर्ने ।
  • उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरी गुणस्तरीय शिक्षाको लागि हौसला प्रदान गर्ने ।
  • विद्यालयको भौतिक निर्माणमा सहयोग प्रदान गरी सुविधा सम्पन्न विद्यालय बनाउने ।
  • नगरपालिका भित्र सञ्चालन हुने कृयाकलापहरुलाई बालश्रमिक प्रयोग र परिचालनमा निषेध गर्ने साथै वडाहरु मार्फत बालश्रम मुक्त बनाउने कार्यको सुरुवात गर्ने ।
  • जोखिम परिस्थितिका, असहाय र सडक बालबालिकाको संरक्षणका लागि आवश्यक कार्यक्रम र आपतकालिन कोषको व्यवस्था गर्ने ।
  • नगरपालिकाभित्र खेलमैदानहरु निर्माण गर्ने ।
  • विद्यालय स्तरीय खेलकुद तथा सांस्कृतिक प्रतियोगिता सञ्चालन गर्ने ।
  • वातावरणय पर्यावरणको लागि नगरक्षेत्रभित्र रहेका वन क्षेत्रको संरक्षण र पार्क निर्माण गर्ने ।
रामेश्वर बोहोरा, नगरप्रमुख, तारकेश्वर नगरपालिका

परिवार, समुदाय र विद्यालयसम्म बालमैत्री कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौं ।
तारकेश्वर प्राकृतिक रुपमा सुन्दर अनि विकासको अत्यन्त सम्भावना बोकेको नगरपालिका हो । यस नगरपालिकालाई काठमाण्डौ जिल्ला भित्रको मात्र नभएर देशकै उत्कृष्ट नगरपालिका बनाउन सकिने सम्भावनाहरु रहेका छन् र हामी त्यसको कार्यान्वयनका लागि क्रियाशील भएका छौं ।

प्राकृतिक सम्पदा र ऐतिहासिक पक्षलाई संरक्षण एवं संवर्द्धन गरी उपलब्ध श्रोत र साधनको दीर्घकालिन प्रयोगको रणनीति कार्यान्वयन गरी व्यवस्थित र समृद्ध नगर  बनाउन सकिन्छ । यस क्षेत्रभित्र रहेका रमणीय प्राकृतिक तथा धार्मिक स्थलहरु पाँचमाने, काभ्रेस्थली शान्तिधाम, मुड्खु भ्यू टावर, जामाचो, पुरानो गुहेश्वरी, महांकालस्थान, धर्मस्थली, भुवनेश्वरी मन्दिर, मनमैजु मन्दिर, बौडेश्वर झरना र सिद्धेश्वर मन्दिर धार्मिक तथा पर्यटकीय स्थललाई व्यवस्थित बनाउन काठमाडौंको भीडभाड बाहिर तर अत्यन्त नजिक सुन्दर, शान्त अनि व्यवस्थित रमणीय स्थलका रुपमा यस नगरपालिको पहिचान बनाउन क्रियाशील छौं । बालबालिकाको लागि नेपाल सरकारले निर्धारण गरेका बालमैत्री सूचकहरुले समेटेका विषयलाई हामी कार्यान्वयन गरी केही वर्षमा बालमैत्री नगरपालिका बनाउने तयारीमा छौं । बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास अनि सहभागिताको अधिकारलाई सुनिश्चित गर्नका लागि विभिन्न कार्यक्रम निर्माण र यसको कार्यान्वयनको लागि परिवार, समुदाय अनि विद्यालयसम्म बालमैत्री बारे कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौं । यसैगरी समुदाय तथा विद्यालयमा सञ्चालित बालक्लबहरुलाई यस नगरपालिकामा आवद्ध गराउँदै उनीहरुको सहभागिता र कृयाशिलतामा वृद्धि गराई उनीहरुसँग सम्बन्धित विषयको योजना तर्जुमामा प्रत्यक्ष सहभागितामा अगाडि बढाउने तयारीमा छौ । बालसहभागिता वृद्धिको लागि विभिन्न कार्ययोजना बनाउने योजनाका लागि विज्ञहरुसँग छलफल र सहकार्य भईरहेको छ ।

भवानी डोटेल धिताल, नगर   उपप्रमुख तारकेश्वर नगरपालिका

हाम्रो जिम्मेवारी तारकेश्वरलाई समृद्ध नगरपालिका बनाउने कार्यको नेतृत्व लिनु हो । यसका लागि सम्पूर्ण पक्षको सहभागिता हुन सक्यो भने मात्र सहज रुपमा अगाडि बढ्न सकिन्छ । बालबालिकाको आमालाई पहिलो गुरु भनिन्छ । आमालाई सक्षम बनाउन सकियो भने बालमैत्री अभियानमा ठूलो योगदान मिल्छ । सक्षम आमाले बालबालिकाका लागि लगाउनु पर्ने खोपहरु सहित स्वस्थ बालबालिकाका लागि गर्नुपर्ने कार्यमा स्वयं सहभागी हुन सक्छिन् । सचेत आमा मार्फत बालबालिकाको जन्मदर्ता, संरक्षण र सहभागिताको अधिकार स्वत घरबाटै शुरु हुन्छ । हामी  बालमैत्री, अपांगमैत्री, महिला मैत्री, वातावरण मैत्री सहित सम्पूर्ण नगरबासी सहभागी भएको समृद्ध नगरपालिका बनाउन सक्रियता पूर्वक लागिरहेका छौँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»