मोक्षदा अम्गाईं


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आज पनि ममी–बाबा गइसक्नुभयो ?” कोठा सफा गरिरहेकी शोभालाई भर्खर उठेकी एरिकाको प्रश्न थियो । “हजुर खाना खुवाएर स्कुल पठाउनु भन्नुभएको छ । ”शोभाले उत्तर दिइन् ।

“कहिल्यै पनि भेट्न पाइँदैन ।” ठूलो रङ्गीन कोठाको बीचमा रहेको खाटमा गुडियासँग खेल्दै एरिकाले भनिन् । “म फ्रेस भएर आउँछु, ड्रेस रेडी परिदिनु है ।” भन्दै एरिका बाथरुम छिरिन् ।

एरिकाले डाइनिङ टेबलमा बस्दै सोधिन् “शोभा दिदी, हजुरमुमा कहिले आउनुहुन्छ ?”

शोभाले आँखाभरि आँसु पार्दै भनिन्, “थाहा छैन नानी ।” एरिकाले चुपचाप खाना खाइन् ।

“म तपाईंको कपाल कोरिदिन्छु नानी । अहिले स्कुल जान ढिलो हुन्छ ।” शोभाले एरिकाको कपाल मिरिक्क पारेर बाटिदिइन् । अनि स्कुलको बससम्म पुऱ्याइन् । स्कुलबाट फर्किँदा एरिकाको जूनजस्तो अनुहारमा आज उदासिनता थियो । “ए ! आइपुग्नु भयो नानी ? म खाजा बनाइदिन्छु, लुगा फेरेर आउनू ।” शोभाले भनिन् । ‘अहिले पनि ममी–बाबा हुनुहुन्न । उहाँहरुलाई त मेरो माया नै लाग्दैन ।’ एरिका मनमा कुरा खेलाउँदै कोठातिर लागिन् ।

निकैबेर हुँदापनि एरिका नआएपछि शोभा खाजा तयार पारेर उनको कोठामा छिरिन् । कोठामा किताब कापी छरपस्ट थिए, केही सिसाहरु फुटेका थिए । एरिका सुँक्क सुँक्क गर्दै रोइरहेकी थिइन् ।

“के भयो नानी तपाईंलाई ? ” शोभाले मायालु पारामा सोधिन् ।

“मलाई खाजा खान मन छैन ।” “मलाई बाबाममी चाहियो ।” एरिकाले झर्कंदै भनिन् ।

“माइ लिटिल प्रिन्सेस ! हामी आइपुग्यौँ ।” ममी एलिसाले भन्नुभयो ।

“तिमीलाई मन पर्ने बार्बी डल पनि ल्याएका छौँ ।” भन्दै बाबा रकी पनि कोठामा पस्नुभयो ।

“आ… आज यति छिटो !” आँसु पुछ्दै आश्चर्य व्यक्त गरी ।

“तिमीले खोजेपछि नआउने कुरा हुन्छ ?” “शोभाले  फोन गरेकी थिई । हामी आइहाल्यौँ ।” एरिकाले शोभातिर हेरीन् । “तपाई घरभित्र पस्दा तपाईंको अनुहार हेरेर मैले थाहा पाएको थिएँ, तपाईंलाई आज नरमाइलो लागेको छ भनेर । त्यसैले मैले मामुलाई फोन गरिदिएको थिएँ ।”

“क्लास फोरमा पढ्ने भइसकेकी हाम्री छोरी किन रोएकी ?” बाबा रकीले एरिकालाई काखमा लिँदै सोधे । “तपाईंहरु मलाई माया नै गर्नुहुन्न । माया गर्ने हजुरमुमालाई पनि कता पो लगिदिनुभयो !” एरिकाले बाबाको काखबाट ओर्लंदै भनिन् ।

“धत् लाटी ! तिमीलाई हामीले जति माया अरु कसले गर्ला ?” ममीले एरिकालाई आपूmतिर तानेर टाउको मुसार्दै भनिन् ।

“तपाईंहरु कहिल्यै मसँग बस्नुहुन्न, अनि हजुरमुमालाई पनि कता पो पठाइदिनुभयो !” एरिकाले रिसाउँदै भनिन् । “हामी तिम्रै लागि त काम गर्न जान्छौँ नि ।”

एरिकाले सुँक्क सँक्क रुँदै भनिन् । “तपाईहरुले जति कमाए पनि मसँग कहिल्यै बस्नुहुन्न क्यारे ।सबै साथीहरु भन्छन बाबाममीसँग बस्दा कति रमाइलो हुन्छ । मलाई त बाबा ममीसँग बस्दाको रमाइलो भनेकै थाहा छैन ।” “ए ! त्यसो पो । ल भोलिदेखि तिमी घरमा छँदा तिम्री ममी र म मध्ये एक जना हुनेछौँ र तिम्री हजुरमुमा पनि ।” बाबाले भन्नुभयो । एलिसाले आश्चर्य मान्दै बाबालाई हेरिन् ।

“पिंकी प्रमिस ?” एरिकाको मुहारमा चमक थियो ।

“पिंकी प्रमिस । म त प्रमिस पूरा गर्छु, अब तिमी पनि हाँसी खुसी हुनुपर्छ । इज इट ओके ?”

“ओके, बाबा ।” एरिका खुसी हुँदै ड्रेस फेर्न गइन् ।

“यो तिमीले के भन्यौ छोरीसँग !” एलिसाले सानो स्वरमा रकीसँग सोधिन् ।

रकीले एलिसालाई आफ्नो कोठामा लगेर भने, “जुन कुरा हामीले पहिले नै गरिसक्नुपर्थ्यो ।”

“राम्रोसँग भन ।” एलिसाले झर्कँदै भनिन् ।

“मुमालाई बृद्धाश्रममा लगेर छाड्नु गलत थियो । त्यसपछि छोरीको पढाइ खस्कँदै छ । क्लासमा पनि ऊ टोलाएर मात्र बस्छे रे । त्यसैले मैले मुमालाई ल्याउने फैसला गरेँ ।” रकीले भने ।

“अनि हामी घरमा नै बस्ने कुरा !” एलिसाले थप प्रश्न गरिन् ।

“आफ्नो परिवारसँग नजिक बस्दा सन्तान सामाजिक हुन्छन्, टाढा बस्दा होइन । यो कुरा हामीले पहिले नै बुझ्नु पर्थ्यो । आज छोरीले सम्झाई ।” “तिमी बाबुछोरीको कुरा म बुझ्दिन ।” एलिसाले रिसाउँदै भनिन् ।

“त्यो त ठीक छ, पालैपालो घरमा बसौँला तर मुमालाई ल्याउने कुरा नि !” एलिसाले प्रतिवाद गरिन् ।

“आमाको ऋण तिर्न नसके पनि उनको सेवा गर्नु हाम्रो जिम्मेवारी हो । त्यो हामीले भुलेका थियौं । आज हामीले जे गर्छौँ एरिकाले पनि त्यही सिक्छे ।” रकीले सम्झाउने प्रयास गरे ।

एलिसा चुप लागिन् र एकछिन पछि मुन्टो हल्लाउँदै भनिन्, “तिमीले भनेको कुरा पनि ठिकै हो । म पनि अबुझ नै भएकी रहेछु । मलाई माफ गर ल !”

“इट्स ओके ।” “बरु जाऔँ, मुमालाई लिएर आऔँ ।”

उनीहरु शोभालाई भनेर बाहिर निस्किए ।

“एरिका… ! बाहिर आऊ त । इट्स सरप्राइज फर यु !” होमवर्क गरिरहेकी एरिका लेख्न छाडेर दौडदै बाहिर निस्किइन् । बाहिर हजुरमुमालाई देख्नासाथ चिच्याउँदै ग्वाम्लाङ्ग अँगालो हाल्न पुगिन्, “मेरी हजुरमुमा ।” एरिकाको आँखा आँसुले भरिएका थिए ।

“मेरी नातिनी !” हजुरमुमाले आँखाभरि आँसु पारेर एरिकालाई चपक्क चेप्नुभयो ।
– मोक्षदा अम्गाईं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»