डा. रबा थापा


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नियमित परीक्षणले आँखाको ज्योती जोगाउन सकिन्छ
लामो समयदेखि तिलगंगा आँखा अस्पतालमा उपचारमा सम्लग्न रहनु भएकी डा. रबा थापासँग बालबालिकामा हुने आँखाको समस्या मूलत आँखाको रेटिनामा हुने समस्या र यसबाट बच्ने उपायका बिषयमा केन्द्रीत भएर गरिएको कुराकानी ।

रेटिना भनेको के हो ?

आँखाको भित्री भागको स्नायु तन्तुले बनेको सानो झिल्ली नै रेटिना हो । यसलाई नेपालीमा आँखाको पर्दा पनि भनिन्छ । जसलाई हामीले खुल्ला आँखाले देख्न सक्दैनौं । यसलाई क्यामराको फिल्मसँग तुलना गर्न सकिन्छ जसले बाहिरी प्रकाशलाई हाम्रो दिमागसम्म पुर्‍याउँछ । जसले देख्ने काम गर्दछ । यो आँखाको महत्वपूर्ण भाग हो ।

आँखाको रेटिना (आँखाको पर्दा) मा कस्ता कस्ता समस्याहरु आउने गर्दछन् ?
नेपालमा आँखामा हुने पहिलो रोगको रुपमा मोतिबिन्दु रहेको छ । यस पछि हामीलाई अन्धो बनाउने प्रमुख रोग चाहीँ आँखाको रेटिना (पर्दा) सम्बन्धी रोग नै हो । यो एकदमै धेरै छ । यो पर्दा सम्बन्धी रोग भरखरै जन्मेको बच्चादेखि बृद्ध अवस्था जुनसुकै बेला पनि हुनसक्छ । उमेर नपुगी ३२–२३ हप्तामा जन्मेको वा जन्मँदा डेढ किलोभन्दा कम तौल भएको बच्चाको विकास भइसकेको हुँदैन त्यस्तो बच्चामा पनि आँखाको रक्त सञ्चार कमी हुन गई आँखाको पर्दा उक्कने हुन्छ । ७–१० बर्षका बालबालिकामा आँखामा अत्याधिक चोटपटक लाग्न सक्छ । पछि यसकै कारणले पर्दा उक्कन सक्ने हुन सक्छ । विभिन्न खेल खेल्दा किशोरावस्थाका बालबालिकाको आँखामा चोटपटक लाग्दा रातो हुँदा त्यतिबेला सामान्य लागेता पनि पछि त्यसको असर हुन सक्छ यी विभिन्न कारणले आँखाको पर्दा उक्कन सक्दछ । चस्मा लगाउनु पर्ने (मायोपिया) बालबालिकाको पनि पर्दाहरु पातलिएर जाने र पछि पर्दामा प्वाल पर्ने अवस्था आउन सक्दछ ।

रेटिनामा हुने समस्या (रोग) का लक्षणहरु

रेटिना आँखाको भित्री भागमा हुने भएकोले त्यतिकै देखिँदैन । त्यसैले यसको सजिलै लक्ष्यणहरु देखिँदैन । बिरामीलाई खासै थाहा नै हुँदैन । यसमा अरुमा जस्तो आँखा रातो हुने पनि हुँदैन । अलि जटिल बन्दै गएपछि आँखा अगाडि छायाँ हिँडेजस्तो लाग्ने, आँखा धमिलो भएर जाने । सिधा चिजहरुलाई पनि बाँङ्गो देखिने । रेटिना (पर्दा) अझ च्यातिन लागेपछि आँखा देख्न निक्कै कम हुन्छ । सानो बच्चाले त माथि भनिएका कुरा थाहा नै पाउँदैनन् र मैले आँखा देखिन भन्न पनि सक्दैनन् ।

बालबालिकाको आँखाको नानी गोलाकार हुन्छ । रेटिना समस्या भएको बच्चाको आँखाको नानी लाम्चो हुन्छ । आँखाको नानीमा सेतोपन देखिन्छ । जुन आँखा देखिँदैन त्यो आँखा बिस्तारै टेढोे हुँदै जान्छ वा आँखा बाङ्गो हुन्छ । रेटिना (पर्दा) सम्बन्धी समस्या भएको आँखा अर्काे आँखाभन्दा केही सानो हुन्छ । यस्तो भएमा रेटिना च्यातिएको हुन सक्दछ । सामान्य जन्मेको बच्चाले तीन महिनामा मुखमा हेर्ने र हाँस्ने गर्दछ तर आँखाको समस्या भएको बच्चाले यस्तो गर्दैन ।

रेटिनामा समस्या भएमा यसको उपचार विधि के हो ?
आँखाको नानी सामान्य लाम्चो, टेढो वा नानीमा सेतो देखिनासाथ प्रारम्भ मै उपचार भयो भने ठीक हुन्छ । यसलाई लेजर (लाइट) उपचार विधिबाट उपचार गरिन्छ । पर्दाहरु खुम्ची वा उक्की सकेको अवस्था पछि अप्रेसन नै गर्नु पर्दछ । यो आँखाको जटिल शल्यक्रिया (भिक्रेटोमी अप्रेसन) हो । यसको पनि समयमै भएमात्र सम्भावना हुन्छ ढिलो भएमा आँखाको ज्योति जोगाउन सकिँदैन ।

महिना नपुगी जन्मेको वा कम तौल भएका बच्चाको हकमा जन्मेको चार हप्तामा बच्चाको आँखा परीक्षण गराएकै हुनुपर्दछ । यस्तो अवस्थामा पर्दा खुम्चन लागेको वा अन्य समस्या देखिएमा तत्कालै लेजर उपचार गरियो भने बच्चाको आँखा बचाउन सकिन्छ । बच्चाको विकास एकदम छिटो हुने हुँदा एक महिनाभन्दा निकै ढिलो उपचारमा ल्याइयो भने उनीहरुको आँखा बचाउन सकिँदैन । चस्मा लगाउनु पर्नेको हकमा त्यो नै उपचार हो । उपचारपछि पनि आँखाको नियमित जाँच गराउनु पर्दछ ।

अन्तमा
कहिले काहीँ हामीले कुनै एउटा आँखाले मात्र देखिराखेको हुन सक्दछ । त्यस्तो अवस्थामा मानिसलाई आफ्नो एउटा मात्र देखेको थाहा नै नहुने हुनाले समय समयमा एउटा आँखा छोपेर हेर्ने गर्नाले पनि आँखाको समस्या थाहा पाएर तुरुन्त उपचार अगाडि बढाउन सकिन्छ ।

समस्या नभए पनि प्रत्येक वर्ष आँखाको जाँच गरौँ । समयमा नै जाँच गरेमा सजिलै र सस्तोमा उपचार गरी आँखाको रेटिना (पर्दा) लाई जोगाई ज्योति जोगाउन सकिन्छ । ढिलो भएमा ज्योति फर्काउन सकिँदैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»