फुलपरी


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरतीभन्दा माथि बादल, बादलभन्दा माथि एउटा लोक थियो । त्यहाँ फुलपरीहरु बस्थे । त्यसैले त्यो लोकलाई फुललोक भनिन्थ्यो । त्यो लोक एकदम सुन्दर र रमाइलो थियो । त्यहाँ रङ्गीचङ्गी फुलपरीहरु बस्थे । जताततै मिठो सुगन्ध र सुवास फैलिएको थियो । त्यसैले त्यो लोक स्वर्गभन्दा पनि रमाइलो थियो । फुललोकका परीहरु हेर्न स्वर्गबाट देवताहरु बेलाबेलामा त्यहाँ आइरहन्थे । तर धरतीबाट भने कमैमात्र आउँथे । धरतीबाट आएकाले फुलपरीलाई धरतीमा आउन आमन्त्रण गर्थे ।

एकदिन एउटी फुलपरीलाई धरतीमा जान मन लागेछ । ‘मानिसहरु बस्ने धरती त एकदम रमाइलो होला । एकपटक घुम्न जान्छु ।’ यस्तै सोचेर उनी धरतीमा झरिन् ।

उनी एउटा गाउँमा पुगिन् । त्यहाँको एउटा घरमा एकजना असाध्यै राम्री बालिका देखिन् । बालिकाले पनि उनलाई देखिन् । दुवैको हेराहेर भयो । फुलपरीले उनलाई सोधिन्, ‘आहा ! तिमी त मभन्दा पनि राम्री रहेछ्यौ । तिम्रो नाम के हो ?’ तर त्यो बालिका बोल्दै बोलिनन्, मात्र एकोहोरो हेरिरहिन् । फुलपरीलाई अचम्म लाग्यो, ‘हैन धरतीका मान्छे बोल्दैनन् कि क्या हो ?’ त्यसपछि फुलपरी धरतीका विभिन्न ठाउँमा डुल्न थालिन् । मानिसहरु आ–आफ्ना काममा व्यस्त थिए । सबतिर हरियाली थियो । तर उनी पुगेको ठाउँमा एउटै फुल नहुनाले उजाडजस्तो देखिन्थ्यो ।

‘धरती त रमाइलो छ तर फुलहरु नहुनाले उजाड देखिन्छ ।’ उनले सोचिन् ।

‘बरु फुललोकमै जानुपर्ला ।’ यस्तै विचार गरी उनी पूmललोकमा उड्नै लागेकी थिइन् । त्यही बेला उनले फेरि उही बालिकालाई देखिन् । उनको आँखाबाट आँसु बगेको पनि देखिन् ।

‘ल रुन पो थालिन् ।’ फुलपरीले मनमनै सोचिन् र सोधिन्, ‘तिमीलाई के भयो ? मसँग केही त बोल ।’

 

बालिका बोल्न खोजिन् तर ओठ थरथरायो । उनी बोल्नै सकिनन् । उनको अनुहारमा चमक देखियो । उनले हात जोडेर बिन्ति गर्दै नजाऊ भनेर इसारा गरिन् ।

फुलपरीले उनको हात समातिन् र भनिन्, ‘म तिमीलाई छाडेर जान्न । तर तिमीले किन हाँस्न र बोल्न नचाहेकी ? आऊ हामी सँगै खेलौँ ।’

 

फुलपरीले उनको हात तानिन् । बालिका बिस्तारै उठेर आइन् । फुलपरीले उनलाई हँसाउन र बोल्न लगाउन अनेक प्रयास गरिन् ।

फुलपरीसँग खेल्दाखेल्दै एकदिन त्यो बालिका बोल्न थालिन् । कहिल्यै नबोल्ने छोरी बोल्न थालेकोमा उनको परिवारमा पनि खुसी छायो । फुलपरीसँग खेल्दा र बस्दा उनी हाँस्न र खुसी हुन थालिन् ।

‘छोरी त बोल्न पनि थाली । हाँस्न पनि थाली ।’ एकदिन उनकी आमाले खुसी व्यक्त गर्दै भनिन् । ‘यो सब फुलपरीको कमाल हो ।’ बुबाले भने ।

अचानक आफ्नो छोरीमा आएको परिवर्तन देखेर उनीहरुको परिवारमा हर्ष छायो । अब त फुलपरी र बालिकाबीच अटुट मित्रता गाँसियो । दुवै सँगसँगै बस्न खेल्न थाले । उनीसँग रमाउँदा रमाउँदै फुलपरीलाई पनि फुललोकमा जानुपर्छ भन्ने कुरा नै बिर्सन थालिन् । उनीहरुसँग अन्य बालबालिकाहरु पनि रमाउन र खेल्न थाले ।

एकदिनको कुरा हो फुलपरी बिरामी भइन् । आफुलाई नयाँ जीवन दिने फुलपरी नै बिरामी भएकोमा बालिका धेरै दुःखी भइन् । उनका आमाबुबा पनि दुःखी भए । उसँगै खेल्न केटाकेटी पनि दुःखी बने ।

‘फुलपरी ! तिमीलाई के भयो ?’ बालिकाले दुःखी हुँदै सोधिन् ।

फुलपरी चुपचाप बसिन् । उनी बोल्नै सकिनन् । बालिका, उनको परिवार र अन्य बालबालिका सबै फुलपरीको वरिपरी झुम्मिन थाले । उनीहरु फुलपरीलाई चाँडै सन्चो होस् भनेर कामना गरिरहेका थिए । उनको उपचारमा खटेका थिए । तर फुलपरीलाई कम भएन ।

एकदिन फुलपरीले आँखामा आँसु पार्दै बडो दुःखी हुँदै भनिन्, ‘अब म बाँच्दिन । म जाने समय आइसकेको छ ।’ ‘फुलपरी ! त्यस्तो नभन, तिमीलाई केही पनि हुन्न ।’ बालिकाले रुँदै भनिन् ।

‘तिमी किन रोएकी ? नरोऊ । बरु तिमीले मेरो एउटा काम गरिदिन सक्छ्यौ ?’ फुलपरीले सोधिन् ।

‘के काम हो भन न । म जे काम पनि गर्न तयार छु ।’ बालिकाले भनिन् ।

‘हेर, म मरेपछि मलाई खाल्डो खनेर पुर । केही समयपछि त्यहाँ एउटा फुलको बोट उम्रिने छ । त्यसमा राम्रो र सुन्दर फुल फुल्नेछ । त्यसको बीउ जहाँ छऱ्यो त्यहीँ फुलको बोट उम्रिनेछ र रङ्गीचङ्गी फुल फुल्नेछन् । तिमीले त्यसको बीउ धरतीभरि छर । म फुल बनी तिम्रो नजिक रहिरहनेछु ।’ यति भनी फुलपरीले आफ्नो देह त्याग गरिन् ।

फुलपरीले देह त्याग गरेपछि सबैजना रुन थाले । ‘फुलपरी, हामीलाई छाडेर नजाऊ ।’ केटाकेटीहरु पनि रोए । बालिका पनि रोइन् ।

फुलपरीले भनेझैँ उनको परिवार र छिमेकीहरू मिलेर पूmलपरीलाई नजिकै एउटा खाल्डो खनेर पुरिदिए । उनीहरु हरेक दिन फुलको बिरुवा कहिले आउँछ र फुल फुल्ला भनेर कुरी बस्न थाले ।

केहि दिनपछि त्यहाँ एउटा बिरुवा उम्रियो । त्यो बिरुवा बिस्तारै बढ्न थाल्यो । नभन्दै एकदिन त्यसमा एउटा रङ्गीन सुन्दर फुल पनि फुल्यो ।  ‘छोरी, त्यो फुलको बीउ जताततै छरिदेऊ ।’ आमाले उनलाई सम्झाइन् ।

‘हुन्छ आमा ।’ उनले भनिन् । त्यसपछि उनले त्यो फुलको बीउ वरपर छरिन् ।

बीउ छरेको केही समयपछि माटोमा फुलको बोट उम्रिन थाल्यो । ती बोटमा रङ्गीचङ्गी फुलहरु फुल्न थाले । फुल फुलेपछि धरती साह्रै मनमोहक भयो र सबै मानिसहरु खुसीले नाच्न थाले । उनीहरुको अनुहारमा अचानक खुसी छाउन थाल्यो । धरती पनि सुन्दर देखियो । फुलको सुवास चारैतिर फैलिन थाल्यो । बालिका पनि रमाइन् ।

खुसीले रमाएकी बालिका बिहान सबेरै उठी सरासर फुलपरीको चिहानमा गइन् । त्यहाँ उनले फुलपरीको आत्मा फुललोकतर्फ उडिरहेको देखिन् । फुलपरीले उनलाई बिदाइको हात हल्लाइन् । उनले पनि फुलपरीलाई बिदाइ गरिन् र हात उठाएर हल्लाइरहिन् ।

– श्यामकृष्ण खुलिमुली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»